काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ पुराना लगाएत सबै भ्रष्टाचार प्रकरणमाथि पुनः छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी पत्र बुझाएको छ ।
शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले राजनीतिक नेतृत्व तहले उत्मुक्ति नपाउने गरि नयाँ पुराना लगाएत सबै भ्रष्टाचार प्रकरणमाथि पुनः छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी पत्र बुझाएको हो ।
त्यस्तै, राप्रपाले ट्रान्सपरेन्सी इन्टरनेसनलको विभिन्न समयका प्रतिवेदनले नेपाल भ्रष्ट राष्ट्रहरूमा सूचीकृत हुनु सम्पूर्ण नेपालीहरूका लागि लज्जाको विषय भएको जिकिर गरेको छ । आयोगबाट भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा दर्ताका काम प्रशस्त भए पनि ठुला भ्रष्टाचारका काण्डहरू सुडान घोटाला, ललिता निवास, वाइड बडी, क्यान्टोन्मेन्ट, ओम्नी, एनसेललगायतमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर परेको राप्रपाको ठहर छ ।
उजुरी पत्रमा राप्रपाले विगतको नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, रड सिमेन्ट लगायत निर्माण सामग्रीमा अप्रत्याशित मूल्यवृद्धि, वर्तमानको भिजिट भिसा र मन्त्रीहरूको अडियो प्रकरण नेपाल र नेपाली जनतालाई विश्व समुदायमा बदनाम गर्ने केही प्रतिनिधि घटना मात्र भएको उल्लेख गरेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मणिपाल मेडिकल कलेज, चाइनिज विमान खरिद काण्ड, खरबौँ कृषि अनुदानको दुरुपयोग लगायतका चर्चित र ठुला भ्रष्टाचार काण्डहरूमा अनुसन्धान र कारबाहीका लागि भइरहेको ढिलासुस्ती र उदासीनतामा पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत राप्रपाले जनाएको छ ।