काठमाडौं । आईतबार बिहानदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ ।
करिडोरअन्र्तगत गुल्मीको कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे र वार्ड नं–६ को बरल्वा गरी दुवै ठाउँमा सडक माथिबाट चट्टान सहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । पहिरो डोजर र एक्साभेटरको माध्यमबाट पन्छाएसँगै मंगलबार अपरान्ह चार बजेदेखि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
सडक सञ्चालनमा आएपछि आईतबारदेखि करिडोर क्षेत्रमा दुवैतर्फ रोकिएका सम्पूर्ण सवारीका साधनहरु गन्तव्यतर्फ लागेका छन् । वर्षाका कारण दुवै स्थानमा चट्टान सहितको ठूलो पहिरो गएकाले पन्छाउन लामो सयम लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोका कारण कुनै पनि समयमा जोखिम उत्पन्न हुनसक्ने भन्दै स्थानीय पालिका र प्रशासनले सो क्षेत्रमा आवतजावत गर्नेहरुलाई सतर्कता अपनाएर मात्र यात्रामा निस्कन आग्रह गरेका छन् । वर्षात शुुरु भएसँगै कालिगण्डकी करिडोर पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
