काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ ।
पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको सनसनीपूर्ण जित निकालेको नेपाल आज नेदरल्याण्डसँग खेल्न लागेको हो ।
आजको खेल नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे शुुरु हुनेछ । लिग २ मा अमेरिका र नेदरल्यान्ड्स शीर्ष टोली हुन् । त्यही नेदरल्यान्ड्ससँग नेपालले दोस्रो खेल खेल्नेछ । नेदरल्यान्ड्सको यस सिरिजको पहिलो खेल हो ।
नेपालले गत वर्ष घरेलु मैदानमा लिग २ को शुुरुआत गर्दा १ खेलमा जित हात पारेको थियो भने अर्को खेलमा पराजित भएको थियो । नेपालले अस्ट्रेलियाका स्टुवार्ट लको प्रशिक्षणमा पहिलो आधिकारिक खेलमा सनसनीपूर्ण जित हात पारेको छ ।
गत सोमबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई उसकै मैदानमा हराएको हो । जितपछि नेपाल लिग टुको तालिकामा पुछारबाट सातौं स्थानमा उक्लिएको छ । नेपालले १३ खेलमा ३ जितसहित ८ अंक जोडेको छ ।
२० खेलमा १२ खेल जितेको नेदरल्याण्ड २६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदा १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ । अमेरिका भने तालिकाको शीर्ष स्थानमा रहेको छ ।
आठ टोली सहभागी लिग–२ आइसिसी विश्वकप २०२७ को छनोट प्रतियोगिता हो । सन् २०२७ सम्म चल्ने यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार शाह, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव र रिजन ढकाल छन् ।