समाज

बागलुङमा कृषक र विद्यार्थीहरूलाई फलफूलका बिरुवा वितरण

बागलुङमा कृषक र विद्यार्थीहरूलाई फलफूलका बिरुवा वितरण

बागलुङ । समृद्धि र आत्मनिर्भर बागलुङका लागि स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं भन्ने नारासहित बागलुङमा कृषक र विद्यार्थीहरूलाई फलफूलका बिरुवाहरू वितरण गरिएको छ । 

बागलुङ जिल्ला, जैमिनी नगरपालिका–२ निवासी सुजन सापकोटाले विगत तीन वर्षदेखि जिल्लाका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरू र वडास्तरमा रहेका किसानलाई गरी करिब ११ हजार फलफूलका बिरुवा वितरण भैसकेको छ । 

जलवायु परिवर्तन न्यूनीकरण तथा उत्पादनसँग जोड्ने उद्देश्यसहित शुुरु गरिएको यस अभियान अन्तर्गत अघिल्लो वर्ष मालिका मावि, सिगाना मावि, सुन्तलाचौर मावि, जनता मावि, सर्वोदय मावि, जनशिक्षित मावि लगायतका विद्यालयमा एक विद्यार्थी, एक सुन्तला – एक कागती अभियान सञ्चालन गरिएको थियो । 

कृषिमा स्नातकोत्तर गरेका सापकोटाले कालीगण्डकी नदी किनारदेखि ढोरपाटनको शिरसम्मको भू–भागको हावापानी र माटोअनुसार मिल्ने फलफूलका बिरुवा वितरण गर्ने जानकारी दिए। उनले हालसम्म सुन्तला, कागती, टिमुर, किवी, एभोकाडो, लिची, श्रीखण्ड, अम्बालगायतका बिरुवाहरू वितरण गर्दै आएका छन् । हाल विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले ‘पढ्दै सिक्दै, पढ्दै कमाउँदै’ भन्ने कार्यक्रम मार्फत वितरण गरिएको सुन्तला र कागतीका बिरुवाबाट कृषि ज्ञान प्राप्त भइरहेको बताएका छन् । 

विद्यार्थीहरूलाई आफ्नै मातृभूमिको माटोसँग चिनाउने र त्यसमा आबद्ध गराउने उद्देश्यले थालिएको अभियानले गाउँघरमा बढ्दो बसाइँसराइका कारण बाझो बन्दै गएको जमिनलाई उत्पादनसँग जोड्न मद्दत पुग्ने बताइन्छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *