काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आइ.पि.एल.)मा आफ्नो पहिलो उपाधि जितेको छ ।
मंगलबार राति भएको फाइनलमा टोलीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गरेको हो । यससँगै आइपिएलले १८ औं सिजनमा आठौं च्याम्पियन टोली पाएको छ । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेट गुमाउँदै १ सय ८४ रन मात्रमा समेटिएको हो ।
पञ्जाबका सशंक सिंहले सर्वाधिक ६१ रन बनाए । जोश इङ्लिसले ३९ रन बनाए । प्रभसिमरन सिंहले २६, प्रियांश आर्य २४ र नेहल वधेरा १५ रनको योगदान दिए । बैंग्लोरलाई उपाधि दिलाउन भुवनेश्वर कुमार र कृणाल पाण्ड्याले समान २ विकेट लिए ।
त्यसअघि पञ्जाबले ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । उसकालागि विराट कोहोलीले सर्वाधिक ४३ रन जोडे । कप्तान रजत पाटीदारले २६, मंयक अग्रवाल २४ रनको योगदान दिए । पञ्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ तथा अजमतुल्लाह उमरजाई, विजय कुमार वैशाख र युजभेन्द्र चहलले समान १ विकेट लिएका थिए ।
लिग चरणमा पञ्जाब पहिलो र बेंगलुरु दोस्रो स्थानमा रहेका थिए । यी दुई टोली पहिलो क्वालिफायर खेलेका थिए । जसमा पञ्जाबलाई हराउँदै बेंगलुरु फाइनलमा पुगेको थियो । पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउँदै पुनः बेंगलुरु सँगको भेट पक्का गरेको थियो । बेंगलुरु च्याम्पियन भए पश्चात आइपिएलले आठौं च्याम्पियन टिम पाएको छ । यसअघि ७ टोलीले आइपिएल जितेको छ ।