समाज

सिरहामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

सिरहामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

काठमाडौं । असारको मध्यसम्म पनि सिरहाका धेरै खेत सुक्खै छन् । खेत जोतिएको छ, बीउ पनि तयार छ, तर वर्षा नहुँदा रोपाइँ थाल्न नसकेका किसान आकाशतिर हेर्दै पानीको पर्खाइमा छन् । सिँचाइको भरपर्दो व्यवस्था नहुँदा सिरहाका किसान आज पनि आकासे पानीको भरमा खेती गर्न विवश छन् । 

रोपाइँ सकेर हरियाली भइसक्नुपर्ने खेत अझै सुनसान छन् । कहिले वर्षा होला र धान रोपाइँ शुरु गर्न पाइएला भनेर किसानको अनुहारमा चिन्ता झल्किन थालेको छ । वर्षा लागिसकेको भए पनि पर्याप्त पानी नपर्दा उनीहरूको पर्खाइ लम्बिँदै गएको छ ।

सिरहालगायत तराईका अन्य जिल्लामा अझैपनि अधिकांश किसान आकाशे पानीमै भर पर्ने गर्दछन् । सिँचाइको सुविधा नहुँदा वर्षाको भरमा खेती गर्ने किसानलाई प्रत्येक वर्ष असार महिनामा आकाशले साथ दिने र नदिने कुराले ठूलो प्रभाव पार्छ ।

कृषि ज्ञान केन्द्र सिरहाका अनुसार जिल्लामा कुल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन छ । तर हालसम्म जम्मा १८ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रको आकलन अनुसार केही दिनभित्र पर्याप्त वर्षा नभए बाँकी खेतीयोग्य जमिनमा रोपाइँ गर्ने समय ढिला हुँदै जान्छ । यसको प्रत्यक्ष असर धान उत्पादनमा पर्नेछ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *