काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशिय एकदिवसीय शृङखलामा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ ।
खेल स्कटल्याण्डको डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि एक विकेटको रोमाञ्चक जीत निकालेको नेपाल आज पनि जीतलाई निरन्तरता दिने प्रयासमा हुनेछ ।
लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा नेपालले शुरुआती दुई खेल जित्दै तालिकामा चार अंक थपेको छ । नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक विकेट र बुधबार भएको दोश्रो खेलमा नेदरल्यान्डसलाई पाँच विकेटले हराएको थियो ।
नेपाली टोलीले स्कटल्यान्ड भ्रमण अन्तर्गतको श्रृङखलामा आज तेस्रो खेल खेल्न लागेको हो । नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालसहित अमेरिका, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, क्यानडा, नामिविया र यूएई गरी आठ टोली सहभागी लिग–२ एकदिवसीय विश्वकप सन् २०२७ को छनोट प्रतियोगिता समेत हो ।
सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ । नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौं स्थानमा छ ।
स्कटल्यान्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा छ । नेदरल्यान्ड्स २२ खेलमा २६ अंकका साथ दोश्रो स्थानमा र अमेरिका २० खेलमा २८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।