काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा उनलाई स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि कामना गरेका छन् ।
उलने भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका नेपाली भाषीबीच भाषिक एकता कायम गर्न मद्दत गरेको ऐतिहासिक तथ्यलाई पनि हामी सबैले मनन गर्नुपर्ने बताएका छन् ।
भानुभक्त आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको संस्कृत भाषाको वाल्मीकि रामायण नेपाली साहित्यसँग सरोकार राख्ने सबैको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच जनचेतनाको विकास तथा भावनात्मक एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निभाएको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।
भानुभक्तीय रामायण नेपाली भाषा लिपिको प्रवर्द्धन गर्ने तथा धर्म, कर्तव्य, निष्ठा, सेवाभाव आदि विषयलाई मानवीय जीवनमा उपयोग गर्न सहयोग पुर्याउने रचना भएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।
पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा विसं १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन सम्पूर्ण नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीहरूद्वारा विविध कार्यक्रमहरू आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ ।