म्याग्दी । सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ ।
सडक स्तरोन्नतिका लागि शहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनी काठमाडौबीच २०८१ साल चैत १९ गते ३ करोड १९ लाख २० हजार ६८० मा ठेक्का सम्झौता भएको थियो ।
विसं २०८२ असार १५ गतेसम्म ठेक्काको म्याद भएको योजनाको ठेकेदार कम्पनीले २० दिनअघि नै सम्पन्न गरेको आयोजनाका इञ्जिनियरले बताए । बेनी–८ कालीपुलबाट दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदान छेउसम्म नौ सय मिटर लम्बाइमा पाँचदेखि छ मिटर चौडाइका दरले ढलान गरिएको सडक निर्माण गरिएको छ । रङरोगन भएको सडकमा ‘आइ क्याट’ राखिएको छ ।
सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना निर्माण गरिएको बताइएको छ । बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्यवृद्धि, सामाजिकलगायत समस्या देखाएर धेरै आयोजनामा ढिलासुस्ती भइरहेको छ । निर्माण कम्पनीले जिम्मा लिएका म्याग्दीका अन्य दुई योजना पनि लक्ष्यअघि नै सम्पन्न भएका छन् ।
बेनी नगरपालिकाले सञ्चालन गरको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजना लक्ष्यभन्दा तीन महिनाअघि नै सम्पन्न भएको छ । विसं २०८१ पुस १९ गते दुई करोड नौ लाखमा निर्माण कम्पनीबीचमा ठेक्का सम्झौता गरेको योजना २०८२ असार २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजना मार्फत प्रवेशबिन्दु, रातोपहिरो, नेप्टेचौर, काउरा, आरते, गिठीनी र आखेत क्षेत्रको अप्ठ्यारो गाउँमा सडक फराकिलो पार्ने, ग्यावियन पर्खाल, नाली र ढलान गरेर स्तरोन्नति गर्ने काम चैतमा नै सकिएको थियो ।