सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा देखिएको खानेपानी अभावको समस्या समाधानका लागि चार बुँदे निर्णय भएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अगुवाईमा भएको बैठकले समस्या समाधान गरी खानेपानी व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । मलङ्गवा नगरपालिकामा खानेपानीको वास्तविक अवस्था एकीकृत गरेर तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ ।
धारा तथा पाइप जडान लगायतका कार्यका लागि स्थानीय तह, वडा कार्यालय, खानेपानी डिभिजन, विद्युत प्राधिकरण, सडक विभाग लगायत सबै सरोकारवाला निकायबीच समन्वय निर्णय गरेको छ ।
त्यस्तै, प्रत्येक वडामा खानेपानीका स्रोत पहिचान गरी खानेपानी व्यवस्थापन गर्न सम्बन्धित वडाले नेतृत्व लिने र सार्वजनिक जग्गामा खानेपानी संरचना जडानको जिम्मा नगरपालिकाले लिने र त्यसमा सम्बन्धित सबै पक्षले सहयोग गर्ने निर्णय गरिएको छ ।
आवश्यकता र मागको आधारमा तत्काल नगरपालिकाले खानेपानी संस्थासँग समन्वय गरी ट्यांकर तथा ट्र्याक्टरबाट भोली देखिनै पानी वितरणको व्यवस्था समेत मिलाइने भएको छ ।