समाज

महोत्तरीको गौशाला बजारको राजश्व संकलनमा विवाद हुँदा ५ जना घाइते

महोत्तरीको गौशाला बजारको राजश्व संकलनमा विवाद हुँदा ५ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला बजारको राजस्व उठाउने विषयमा निगौल गाई गौशाला र गौशाला नगरपालिकाका समर्थकबीच विवाद हुँदा ५ जना घाइते भएका छन् । 

निगौल गाई गौशालाले आफ्नो जग्गामा लाग्ने पशु बजारको राजस्व अमानतमा संकलन गर्न थालेपछि गौशाला नगरप्रमुख डा. दीपेन्द्र महतोका आफन्तले हस्तक्षेप गर्दा विवाद भएको बताइएको छ । 

दुई पक्षबीचको झडपमा गौशाला–४ का ३२ वर्षीय विपिन साह, २४ वर्षीय सिनुल साह, गौशाला–२ निगौलका विजय यादव, गौशाला–२ का वडाध्यक्ष ४० वर्षीय श्यामसुन्दर मण्डलको टाउकामा चोट लागेको र उनीहरुको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

झडपमा गौशाला–२ निगौलका ४२ वर्षीय सुरेन्द्र महतोको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ । बजार ठेक्का विषयमा विवाद गर्ने दुवै पक्षबीच इलाका प्रहरी कार्यालय गौशालामा छलफल गर्ने सहमति भएपछि विहान तनावग्रस्त गौशाला बजारको अवस्था सामान्य बनेको छ । गौशाला नगरपालिकाले ठेक्का लगाउन पाउनुपर्ने पक्षधरले बजारमा रोकिराखिएको बागमती प्रदेश ०१–०२७ च ९७४७ नम्बरको गाडीको अगाडिको सिसा फुटाउनुका साथै तोडफोड गरेको छ । 

गौशाला–५ मा रहेको गाई गौशालामा गोरु बजार लाग्दै आएको छ । गौशाला नगरपालिकाले २०७० सालमा बजारबाट उठेको रकमबाट २५ प्रतिशत रकम गाई गौशालालाई दिने सर्तमा गाई गौशाला गोरु बजार ठेक्का लाग्दै आएको थियो । तर, गाई गौशालालाई दिनुपर्ने रकम भुक्तानी नगरेको विषयलाई लिएर गौशाला नगरपालिका पक्ष र गौशाला पक्षबीच सोमबार बिहानै झडप भएको इलाका प्रहरी कार्यालय गौशालले जनाएको छ । 

गौशाला नगरपालिका कार्यालयले ठेक्काबापतको ५ करोडभन्दा बढी बाँकी रहेको रकम दिन नमानेपछि पशु बजार ठेक्का आफै लगाउने प्रक्रिया अगाडि बढाउँदा नगरपालिकाले अवरोध गरेको निगौल गाई गौशाला कार्यालयको भनाइ छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *