फोटो खबर

सर्वाेच्च न्यायालयमा आगजनी

सर्वाेच्च न्यायालयमा आगजनी

जेनजी आन्दोलनका क्रममा मंगलबार सर्वाेच्च अदालतमा लगाइको आगो आज बिहानबाटै काठमाडौं महानगरपालिकाका दमकलबाट निभाउने प्रयास गरिँदैछ । आगजनीका कारण हिजोबाटै सर्वोच्च अदालत रातभर दन्दनी बलिरहेको छ । आगजनीमा करिब ६० हजार मुद्दाका मिसिल डढेर खरानी भएको बताइएको छ । 

मंगलबार आन्दोलनकारीहरूको एक जत्थाले सर्वाेच्च अदालत परिसरमा पहिला कागज र फाइल जलाएका थिए । त्यसलगत्तै सर्वाेच्चको तेस्रो तलामा चढी आगो झोसेको एक कर्मचारीले बताए ।  

सर्वोच्च अदालतको मूल भवनको प्रमुख मोहडामा तीन तला अग्लो आँखीझ्याल छ र सबैभन्दा माथि न्यायको प्रतीकका रूपमा श्रीयन्त्र राखिएको छ । अदालतका कर्मचारीहरूले हरेक दिन त्यसमा पूजा गरेर अदालती कामकारबाही सुरु गर्नेगरेका थिए । मंगलबारको आगजनीले आँखीझ्याल र श्रीयन्त्र, दुवै ध्वस्त हुन पुगेका छन् ।

सर्वोच्च अदालतले हेटौंडास्थित डाटा सेन्टरमा आफ्नो डाटाको ब्याकअप राखेको थियो, त्यहाँ समेत तोडफोड र आगजनी भएको छ ।

सर्वोच्च अदालतमा मुद्दाका सबै प्रक्रियासम्बन्धी विवरण अनलाइनबाट सञ्चालन भइरहेको थियो । पछिल्ला वर्षमा मुद्दाका फाइल डिजिटल रूपमा तयार गर्ने क्रम बढे पनि पुराना मुद्दाहरू भने कागजातबिना सुनुवाइ गर्न सम्भव नहुने कर्मचारीहरूको भनाइ छ ।
प्रदर्शनकारीहरूले बबरमहलस्थित जिल्ला अदालतका र माइतीघर मण्डलाकोे जिल्ला तथा विशेष सरकारी वकिलका कार्यालयमा समेत आगजनी गरेका छन् ।
सर्वोच्च अदालतले बुधबार एक सूचना प्रकाशित गरी अर्काे सूचना नआएसम्म पेशी लगायतका सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *