मुख्य समाचार

‘विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो’

‘विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो’

धरान । धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिर परिसरमा विगत पाँच वर्षदेखि रुद्राक्षको बिक्री गर्दै आएका छन् । 
 
बाह्र वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्राक्षको माला बनाउँदै व्यापार शुरु गरेका हुन् । उनले भने, “विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षका विभिन्न सामग्री बनाएर बिक्री गर्दा सजिलो र आम्दानीसमेत राम्रै भइरहेको छ ।”

रुद्राक्षका सामग्री बनाउन उनले धनकुटा, पाँचथर, भोजपुरलगायत पहाडी जिल्लाबाट रुद्राक्ष खरिद गरेर ल्याई माला, झोला, ढाकी, ज्याकेटजस्ता सामग्री बनाउने गरेका छन् । उनका अनुसार, मासिक २० हजारदेखि ३० हजारसम्म आम्दानी भइरहेको छ । सबै खर्च कटाएर यति आम्दानी हुन्छ अहिलेसम्म घर खर्च चलाउन पुगेको छ । उनले भने, “आफूलाई मन परेको केही सामान किन्न परे पनि यही आम्दानीले चलायमान रहन्छ । दैनिक १–२ मात्र सामान बिक्री भए पनि घर खर्च टार्न पुग्ने अनि पैसा पनि हातमा आउँछ । थोरै भए पनि नियमित आम्दानी हुन्छ, यहीमा सन्तुष्टि पाएको छु ।”

व्यवसायी लामिछानेले बनाएका सामग्री धरानसहित सुनसरी, मोरङ, झापा, काठमाडौं, काँकडभिट्टा तथा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमाझ लोकप्रिय छन् । बिक्रीका लागि यी ठाउँमा बढी जाने गरेको उनले बताए । उनले भने, “विदेशीहरूले विशेष गरी रुद्राक्षका झोला बढी रुचाउँछन् ।”

ग्राहकको माग अनुसार विविध सामग्री बनाउने गरिएको जनाउँदै उनले २० देखि ५० सम्ममा माला, ढाकी ३०० देखि ५०० र रु एक हजार ५०० देखि तीन हजारसम्ममा झोला, साथै पाँच हजारदेखि पाँच हजार ५०० सम्ममा रुद्राक्षको ज्याकेट बिक्री गर्दै आएको जानकारी दिए । उनका अनुसार दैनिक ढाकी मात्रै पाँचदेखि सात वटासम्म बिक्री हुने गर्छ ।

उनले भने, “अरुबेला सामान्य व्यापार भए पनि साउन महिनामा एक महिनासम्म लाग्ने बोलबम मेलामा व्यापार झनै राम्रो हुने गरेकोे छ । ” उनले तीन जना कामदार राखेर सामग्री उत्पादन गरेका छन् भने अहिले एक जना कर्मचारी राखेर रुद्राक्षका सामग्री बनाएर बिक्री गर्दै आएको बताए । 

रुद्राक्ष स्थानीयस्तरमा सहजै नपाइने भएकाले उनी धनकुटा, भोजपुर जस्ता ठाउँमा गई बोटै ठेक्का लिएर खरिद गर्ने गरेका छन् । एक बोटको मूल्य एक लाखदेखि एक लाख ५० हजारसम्म पर्ने जानकारी दिँदै उनले भने, “बोटबाट रुद्राक्ष ल्याएर सामग्री बनाउन सकेपछि बिक्रीमा समस्या हुँदैन, अर्डर राम्रै आउने गर्छ सामान बनाउनसके बिक्री पनि राम्रो हुन्छ ।”

व्यवसायी लामिछानेका अनुसार, रुद्राक्ष विशेषगरी हरियो पात भएका, लामा हाँगाहरूमा सेता फूल फुल्ने रुखमा ओखर जस्तै फल्ने गर्छ । उनले भने, “सामान्यतया एक देखि १४ मुखीसम्मका रुद्राक्ष सजिलै पाइन्छन् । एकमुखी तथा नौदेखि १४ मुखीसम्मका रुद्राक्ष भने निकै दुर्लभ मानिन्छन् । धार्मिक दृष्टिले महादेवको प्रिय वनस्पति मानिने रुद्राक्ष पहाडी गाउँघरमा ‘दाना’ नामले चिनिन्छ ।”
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *