बागलुङ । बागलुङ नगरपालिका–५, ६ र ७ का बासिन्दालाई बोरिङ प्रविधिबाट खानेपानी वितरण गर्न थालिएको छ ।
प्रसिद्ध धार्मिकस्थल मालिका भगवती मन्दिर क्षेत्रका स्थानीयवासी र श्रद्धालुहरू खानेपानीको अभावमा वर्षौंदेखि समस्यामा परिरहेका बेला बोरिङ प्रविधिबाट खानेपानी हुन थालेको हो ।
पानीको चरम अभाव खेप्दै आएका झन्डै तीन सय घरधुरी बोरिङ प्रविधिबाट निकालिएको पानीवाट लाभान्वित भएका छन ।
खानेपानीको दीर्घकालीन समाधानको रुपमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत खानेपानी आयोजना सम्पन्न भएको हो । बोरिङमार्फत दुई दशमलब छ मिटर गहिराइसम्म खनेर सात दशमलब पाँच हर्सपावरको मोटर जडान गरी पानी वितरण भैरहेको हो ।
गण्डकी ड्रिलिङ कम्पनिका अनुसार पहाडी भेगमा गरिएको यो बोरिङ निकै सफल मानिएको छ । २९ लाख लागत रहेको मालिकामा बोरिङ प्रविधिबाट निकालिएको यो पानी गुणस्तरीय रहेको बताइएको छ ।