काठमाडौं । चितवन जिल्लामा डेङ्गु सङ्क्रमणदर उच्च देखिएको छ । गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन जिल्लाभित्रै डेङ्गु सङ्क्रमित भएका हुन् ।
त्यसैगरी, अन्य जिल्लाबाट आएका चार सय १२ पुरुष र चार सय ५७ महिला गरी आठ सय ६९ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष सबैभन्दा धेरै सङ्क्रमित भरतपुर महानगरपालिकामा देखिएका छन्, जहाँ एक हजार एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यसपछि रत्ननगर नगरपालिकामा नौ सय सात, इच्छाकामना गाउँपालिकामा चार सय ६७, खैरहनी नगरपालिकामा दुई सय २३, राप्ती नगरपालिकामा एक सय २४, कालिका नगरपालिकामा ९१ र माडी नगरपालिकामा ३७ जना सङ्क्रमित भएका छन् ।
डेङ्गुका कारण गत आर्थिक वर्षमा एक जनाको मृत्यु भएको पुष्टि भएको थियो । चितवनको मुख्य बजार क्षेत्रमा डेङ्गु जोखिम बढी हुने गरेको छ । सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाइएको छ ।
नेपालमा डेङ्गु ज्वरो पहिलोपटक सन् २००४ मा चितवनमा देखिएको थियो । त्यो वर्ष यहाँ आएका एक जापानी पर्यटकमा रोग पुष्टि भएको थियो । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा पनि डेङ्गुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा नौ जनामा सङ्क्रमण देखिएको थियो । सन् २०१० मा तीन हजार २९८ जनाको परीक्षण गर्दा ७३९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको कार्यलयको तथ्याङ्कमा उल्लेख छ ।
डेङ्गुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।