मुख्य समाचार

युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय

युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय

एजेन्सी । युक्रेन र रुसबीच युद्ध रोक्नका लागि प्रयास भइरहेका बेला युरोपेली संघ (इयू) ले मंगलबार रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्र मन्त्रीहरूको बैठकमा युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निष्कर्ष निकालेको हो । नयाँ प्रतिबन्ध अन्तर्गत झण्डै २०० वटा रुसी तेल ढुवानी गर्ने पानीजहाजलाई प्रतिबन्धको दायरामा ल्याइएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यी पानीजहाजले पश्चिमी देशहरूले लगाएका तेलसम्बन्धी प्रतिबन्ध उल्लंघन गर्दै अन्तर्राष्ट्रिय बजारमा रुसको तेल बिक्री गरिरहेको आरोप छ । युरोपेली संघकी परराष्ट्र नीति प्रमुख काया कालासले  रुसले बिना शर्त युद्धविराममा सहमति जनाएन भने अमेरिकाले पनि त्यसको परिणाम भोग्नुपर्ने हुनसक्ने बताइन् । 

रुसी राष्ट्रपति पुटिनले शान्तिप्रति चासो देखाए तापनि तिनलाई समर्थन गर्ने पक्षहरूलाई गम्भीर परिणाम भोग्नुपर्ने उनको भनाइ छ । कालासका अनुसार युरोपेली संरुघले अर्को नयाँ प्रतिबन्ध प्रस्तावमा पनि काम गरिरहेको छ । यो १७ औँ प्रतिबन्ध चरण अघिल्लो प्रतिबन्धपछि तीन महिनादेखि तयार पारिँदै आएको थियो ।  

हालको युद्धविराम वार्ता ढिलाइसँग यसको प्रत्यक्ष सम्बन्ध नरहे पनि रुसमाथि दबाब दिनका लागि प्रभावकारी उपायका रूपमा लागू गरिएको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *