एजेन्सी । रुसमा युक्रेनी सीमा नजिकै राजमार्गको पुल भत्किएर रेलमाथि खस्दा सात जनाको मृत्यु भएको छ ।
रुसको आपतकालीन सेवाका अनुसार दुर्घटना ब्रायन्स्क भन्ने क्षेत्रमा पुल भत्किएको हो । दुर्घटनामा कम्तीमा ३२ जना घाइते भएका छन् । स्थानीय गभर्नरले एक बच्चासहित दुई जना गम्भीर घाइते भएको र सबै घाइतेलाई अस्पताल पठाइएको बताए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसको आपतकालीन मन्त्रालयले उद्धारकर्मीहरूले अझै पनि दुर्घटनास्थलमा खोजी जारी राखेको जनाएको छ । यातायात प्रणालीमा अवैध हस्तक्षेपका कारण पुल भत्किएको आरोप रुसको रेल सेवा प्रदायकले जनाएका छन् । मस्कोको अन्तर–क्षेत्रीय यातायात अभियोजन कार्यालयले घटनाको अनुसन्धान शुुरु गरिएको समाचारमा उल्लेख छ ।
तीन वर्ष लामो द्वन्द्व अन्त्य गर्न अमेरिकी नेतृत्वको कूटनीतिक दबाबका बीच इस्तानबुलमा रूसी र युक्रेनी अधिकारीहरू बीचको सम्भावित बैठकको पूर्वसन्ध्यामा यी घटना भएको थियो ।
रासस