धादिङ । धादिङको उत्तरी भेगका सडकहरू बर्खा शुुरु भएसँगै जोखिममा परेका छन् । वर्षाले दामन–पाख्रीन मार्ग अन्तरगतको साङ्कोस तिप्लिङ सडक अवरुद्ध हुँदा रुवीभ्याली, खनियाबास र गंगाजमुना गाउँपालिकाका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
खनियाबास–३ किम्ताङफेदी खोलामा अघिल्लो वर्ष बाढीले सडक बगाएपछि खोला तरेर आवातजावत गरिरहेका सवारी साधनहरु, अहिले खोला ठूलो बग्न थालेपछि झन्डै १ घण्टा लामो र जोखिमपूर्ण खनियाबास ४ को राउते गाउँ हुँदै घुम्न बाध्य भएका छन् ।
मनसुन शुुरु भएको केही दिनमै रुवीभ्याली गाउँपालिकाको सदरमुकामदेखि धादिङबेसीसम्मको यातायात सम्पर्क अवरुद्ध भइसकेको छ । रुवीभ्याली–४ लिस्ने खोलाको उकालो सडक क्षेत्रमा पनि सानो वर्षा हुँदा नै सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको छ । वर्षा लागेसँगै दोहोरिने समस्याको दीर्घकालीन समाधानका लागि स्थानीयले संघ, प्रदेश र स्थानीय सरकारलाई दिन माग गरे पनि सुनुवाई भने हुन सकेको छैन ।
खनियाबास ४ कै धार्ना खोलामा जुनसुकै बेला पहिरो खस्ने खतरा रहेकाले केही दिनमै सो क्षेत्रको यातायात पनि अवरुद्ध हुने सम्भावना देखिएको छ । सडक सञ्जालको मर्मत र दीर्घकालीन योजना नआउँदा बर्सेनि मनसुनको समयमा स्थानीयहरू जोखिम मोलेर यात्रा गर्न बाध्य हुँदै आएका छन् ।