काठमाडौं । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशभर तीन महिनाका लागि विपद संकटग्रस्त घोषणा गरेको हो ।
वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टिगत गर्दै संकटग्रस्त क्षेत्र घोषणा गरिएको बताइएको छ ।
मधेश प्रदेश अहिले खडेरी र सुक्खाको मारमा परेको छ । पानीको कमीले खानेपानी र सिंचाइ प्रणालीमा समेत प्रभाव परेको छ । भूमिगन पानीका स्रोतहरु इनार, ट्युबवेलमा पानी नआउँदा स्थानीय समस्यामा छन् ।
यसअघि मधेस प्रदेश सरकारले पनि प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।