काठमाडौं । नेकपा एकीकृत समाजवादी र बामदेव गौतमबीच एकता
शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमकाबीच समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा गरिएको हो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले गौतमलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
गौतमलाई पार्टीमा स्वागत गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभियानलाई निरन्तर अघि बढाउने बताए । अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनका लागि समाजवादी मोर्चा गठन गरेर सहकार्य भइरहेको भन्दै सवै कुरा मिलेको खण्डमा एकतासम्म गरेर अघि बढ्न सकिने धारणा पनि राखे ।
कार्यक्रममा नेता गौतमले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नेकपा एकीकृत समाजवादीमा आएको भन्दै आफुलाई पद भन्दा पनि कामको जिम्मेवारी दिन आग्रह गरे । नेता गौतमले मुलुकमा समाजवाद निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
उनले नेकपा एकता राष्ट्रिय अभियानका ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर समाजवादीमा आउँदा खुशी लागेको प्रतिक्रिया पनि दिए ।