काठमाडौं । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीय स्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ ।
जलजला कास्कीको नयाँ पुलदेखि पर्वतको मोदी गाउँपालिका हुदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने पदमार्गमा समेटिएको छ ।
गण्डकी प्रदेश सरकारको २० लाख बजेटबाट पर्वतको मोदी गाउँपालिका–१ माटे देखि मोदी र जलजला गाउँपालिकाको सिमानामा पर्ने जलजला सम्म ढुङ्गाको सिढी चिनेर पदमार्ग निर्माण भएको हो । माटे देखि वाइफाइ डाडा हुँदै जलजला सम्म दुई किलोमिटर दुरीमा ढुङ्गाको सिढी चिनेर पदमार्गका साथै तीन ठाउँमा विश्रामस्थल निर्माण गरिएको छ ।
तीन हजार तीन सय मिटर उचाईमा रहेको माटे देखि दुलेखानी–वाइफाइडाडा हुदै तीन हजार मिटर उचाईमा अवस्थित जलजला सम्म पहाडको टाकुरामा निर्माण भएको पदमार्गको यात्राको क्रममा अन्नपूर्ण र धौलागिरि हिमशृङखलाको साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीको ग्रामिण बस्ति तथा पहाडहरुको अवलोकन गर्न सकिन्छ ।
यसअघि व्यवस्थित पदमार्ग नहुँदा पर्यटकले बाटो बिराउने, भिरको झाडीमा जोखिम मोलेर हिड्नुपर्ने समस्या थियो । पदमार्गले पदयात्रालाई सुरक्षित बनाएको छ । हिन्दु धार्मिक ग्रन्थ रामायणमा जलजलालाई कालञ्जर पर्वतको रुपमा ब्याख्या गरिएको छ ।
विभिन्न किसिमका जडिवुटी पाइने जलजला जैविक बिविधतायुक्त स्थल हो ।
