समाज

माथिल्लो तमोर जलविद्युत आयोजना रोक्न माग गर्दै स्थानीयद्वारा विरोध प्रदर्शन

माथिल्लो तमोर जलविद्युत आयोजना रोक्न माग गर्दै स्थानीयद्वारा विरोध प्रदर्शन

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन माथिल्लो तमोर जलविद्युत आयोजना रोक्न माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । 

याक्थुङ (लिम्बू) समुदायको धार्मिक र सांस्कृतिक महत्वको मुन्धुम स्थलमा आयोजना जबरजस्ती निर्माण गरिएको भन्दै शुक्रवार स्थानीयले निर्माण स्थलमै प्रदर्शन गरेका हुन् ।

प्रभावित क्षेत्रका स्थानीयले ‘अपर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समिति’ गठन गरी सुरुबाटै आयोजना रोक्न संघर्ष गर्दै आएका छन् । समितिले सङ्घीय सरकारसहित विभिन्न सम्बन्धित निकायमा ज्ञापन पत्र र ध्यानाकर्षण पत्र बुझाउँदै आए पनि माग सुनुवाइ नभएकाले सडकमा उत्रन बाध्य भएको जनाएको छ ।

संघर्ष समितिका श्री लिङ्खिमले शुक्रबारको कोणसभामा मुन्धुम स्थलको अस्तित्वमाथि गम्भीर खतरा पर्न थालेपछि आयोजना स्थलमै विरोध गरेको बताए । उनले यदि अझै पनि निर्माण कार्य रोकिएन भने शान्तिपूर्ण आन्दोलनको स्वरूप परिवर्तन हुने चेतावनी दिएका छन् । 

समितिका संयोजक बिरबल लिङमले पनि आयोजना नरोकेसम्म आन्दोलन जारी रहने स्पष्ट पारे । उनले याक्थुङ समुदायको मुन्धुम स्थललाई अतिक्रमण गरेर आयोजना अघि बढाउन खोजिएको भन्दै यो समुदायको मौलिक सभ्यता र संस्कृतिमाथि हमला भएको बताए । 

तमोर नदीबाट २८५ मेगावाट विद्युत् उत्पादन गर्ने उद्देश्यसहित तमोर इनर्जी प्रालिले निर्माण शुुरु गरेको माथिल्लो तमोर जलविद्युत आयोजना स्थानीयले अवैधानिक रूपमा धार्मिक स्थलमा हस्तक्षेप गरेको आरोप लगाउँदै आएका छन् ।

शुक्रबारको प्रदर्शन शान्तिपूर्ण भए पनि सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटाइएको थियो । स्थानीयले आयोजना स्थलमा निर्माण तत्काल रोक्नुपर्ने, मुन्धुम स्थलको सम्मान र संरक्षण गर्नुपर्ने तथा वैकल्पिक स्थानबाट आयोजना अघि बढाउनुपर्ने माग राखेका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *