काठमाडौं । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत दुई नेपाली छात्राको आत्महत्यामा विश्वविद्यालय प्रशासनको गम्भीर लापरबाही रहेको खुलासा भएको छ ।
घटना लगत्तै गठन भएको तथ्यजाँच समितिको प्रतिवेदनमा केआईआईटीले प्रशासनिक लापरबाही नगरेको भए घटना हुनबाट रोक्न सक्ने उल्लेख गरिएको छ । प्राध्यापक नागेश्वर रावको अध्यक्षतामा गठित समितिले प्रतिवेदन बुझाएको थियो ।
उक्त विश्वविद्यालयमा दुई महिनाको अन्तरालमा दुईजना नेपाली बिद्यार्थीहरुले आत्महत्या गरेको थियो । २०७९ फागुन ४ गते, नेपालकी प्रकृति लम्साल आफ्नो छात्रावासको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन भने २०८१ वैशाख २० गते नेपाली विद्यार्थी प्रिशा शाहले पनि छात्रावासमै आत्महत्या गरेकी थिइन् ।
समितिका अनुसार विश्वविद्यालयको प्रशासनिक काम कारबाही अवैध र गैरकानूनी मात्र नभइ आत्महत्यामा प्रत्यक्ष रूपमा जिम्मेवार रहेको उल्लेख गरिएको छ । यौन उत्पीडन सम्बन्धी उजुरीहरूमा आन्तरिक उजुरी समितिले कानूनी प्रक्रिया नअपनाएको र पीडितलाई जबर्जस्ती ‘सम्झौता’ गर्न बाध्य पारेको प्रतिवेदनमा उल्लेख छ ।