झापा । कोशी प्रदेशका मन्त्री तथा सांसदहरुले प्रदेशमा चिया नीति तथा ऐन निर्माणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार झापाको बिर्तामोडमा आयोजित एक छलफलमा चिया सरोकारवालाहरुको समस्यालाई सुनिसकेपछि उनीहरुले सबै समस्याको हल गर्न प्रादेशिक चिया नीति तथा ऐन निर्माण गरेर जानुपर्नेमा जोड दिएका हुन् ।
छलफलमा कोशी प्रदेशका खानेपानी सिञ्चाई तथा ऊर्जा मन्त्री एकराज कार्की, प्रदेश सभामा नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक गोपाल तामाङ र सांसद शम्शेर राईले चिया समस्याको मुल जड नै बोर्ड तथा नीति र कानून नहुनु भएको बताए । आगामी हिँदे अधिवेशनमा चिया नीति तथा ऐन ल्याउन पहल गर्ने प्रतिबद्धता उनीहरुको थियो ।
सहभागीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नुपर्ने र विषादिरहीत चिया उत्पादनमा जोड दिनुपर्ने बताए । वार्षिक ११ अर्ब रुपैयाँ भन्दा बढीको चिया उत्पादन हुँदै आएकोमा छ अर्ब रुपैयाँ बराबरको चिया भारत तथा तेस्रो मुलुक निर्यात हुँदै आएको छ भने ५ अर्ब रुपैयाँको चिया खपत स्वदेशमै हुँदै आएको छ ।
६५ हजारभन्दा बढी श्रमिक र त्यति नै संख्यामा कृषकहरुले चिया क्षेत्रबाट प्रत्यक्ष रोजगारी पाएका छन् ।