चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ ।
यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक दुई सयको हाराहारीमा पयर्टक झरनामा पुग्ने गरेका छन ।
झरनामा शनिबार र सार्वजनिक बिदाका दिन भने अत्यधिक घुइँचो लाग्ने गर्दछ । झरनामा पर्यटक स्वफूर्तरूपमा आउँछन् । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगाबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटक लोभिने गरेका छन ।
चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि पनि यो झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । पूर्वाधार थपिएकाले पछिल्लो समय झरना आसपासको क्षेत्र व्यवस्थित बन्दै गएको छ । झरनासम्म सडक ढलान तथा कालोपत्र गरिएको छ ।
झरनामा सिँढी, रेलिङ, गोलघर, प्रवेशद्वार, टिकट घर, धारा, शौचालयलगायत संरचना निर्माण गरिएका छन् ।