काठमाडौं । बुटवल–नारायणगढ सडक अन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साल साउन १ देखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार पछिल्लो एक वर्षमा ६३ पटक यो सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको छ । यीमध्ये अधिकांश घटना भारी वर्षासँगै आएको पहिरो वा खसेको माटोले सडक अवरुद्ध हुँदा भएका हुन् । सडक मर्मतका क्रममा ठुला मेसिनरी सामग्री जाम हुँदा र ट्रक बिग्रिएर रोकिँदा पनि घण्टौँसम्म बाटो थुनिएको देखिन्छ ।
दाउन्ने क्षेत्रको पनि विश्वकर्मा मन्दिर, घ्युखोला, त्रियासी मोडलगायत क्षेत्रमा दर्जनौँपटक सडक अवरुद्ध भएको पाइएको छ । बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम शुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको थियो । जम्मा १४ किलोमिटर दूरी रहेको दाउन्ने क्षेत्रमा गत आर्थिक वर्ष विगतको भन्दा धेरै पटक सडक अवरुद्ध भएको हो ।
नारायणगढ–बुटवल सडकखण्डको एक सय १४ किलोमिटर अन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ ।