गुल्मी । गाउँघरमा ससाना काम गर्नु पर्दा पनि सरकारकै मुख ताक्ने परम्परा छ । तर, गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका स्थानीयले भने अर्काको मुख ताक्ने परम्परालाई चिर्दै करोडौं लगानी गरेर गाउँमा सामाजिक काम गर्दै आइरहेका छन् ।
स्थानीयले गाउँको सामाजिक विकासमा पुर्याएको सहयोग र योगदानको उदाहरणको चर्चा अहिले जताततै हुने गरेको छ । हालै मात्र स्थानीयले भार्सेको देउराली डाँडामा बौद्ध स्तूपा निर्माण गरेका छन् । गाउँमा जन्मिएर स्वदेश तथा परदेशमा रहेका भार्सेलीले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले दुई करोड ५० लाख रुपैयाँको लागतमा बौद्ध स्तूपा निर्माण गरेका हुन् ।
करिब आठ सय ५० जना व्यक्तिले निर्माण अभियानमा सहयोग गरेका छन् । स्तूपा निर्माणमा भार्से र आसपासका एक दर्जनभन्दा बढी शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएका स्तूपा निर्माणका परिकल्पनाकार समेत रहेका लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकी एक्लैले एक करोड १५ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।
बौद्ध स्तूपासँगै पर्यटकलाई थप आकर्षित गर्न नजिकै फनपार्क पनि निर्माण गरिएको छरु। भार्सेबाट काठमाडौंमा बसोबास गर्ने सिद्धार्थ डिजाइनर्सको टोलीले स्तूपा र फनपार्कको डिजाइन गरेका हुन् । पार्कमा अहिले टिकटक, लभ प्रतीक र चन्द्रमा पनि बनाइएको छ ।
भार्सेको देउराली डाँडामा भर्खरै निर्माण गरिएकोे बौद्ध स्तूपा हेर्न र त्यहाँको मनोरम दृश्यहरुको अवलोकन गर्न अहिले आन्तरिक एवं वाह्य पर्यटकहरुको घुँईचो लाग्न थालेको छ ।