काठमाडौं । परम्परागत चलनको संरक्षणको लागि भोजपुरको तिहाहरमा बेठी लगाएर रोपाइँ गरिएको छ ।
पछिल्लो समयमा बेठी लगाएर रोपाइँ गर्ने चलन हराउँदै गएपछि यसको संरक्षणसँगै नयाँ पुस्तासम्म पुर्याउन बेठी रोपाइँ गरिएको हो ।
पौवादुङमा १ श्यामशिलाका धन बहादुर पाण्डेको खेतमा १९ हल गोरुसहित एक सय ८० जना रोपार, बाउसे भेला भएर पञ्चेबाजासहित बेठी रोपाइँ गरिएको छ । पञ्चेबाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान बेठी रोपाइँ गरेका छन् । गाउँघरका सबै भेला भएर पञ्चेबाजा बजाएर ६५ रोपनी खेतमा बेठी रोपाइँ गरेका हुन् ।
नाग नगिनी तथा खेतबारीको भोग गर्नको लागि बाजागाजासहित पितापूर्खाले गर्दै आएको बेठी रोपाइँको निरन्तरताको आवश्यक रहेको किसानहरुको भनाइ छ । खेतीपातीलाई उत्सवको रुपमा मनाउन बेठी रोपाइँले सहयोग गर्ने किसानहरुको भनाइ छ ।
रोपाइँमा बेठी संस्कारको लोप हुँदै गएकाले पुस्तान्तरणसँगै यो चलनको संरक्षण गर्न आवश्यक रहेको किसानहरुको भनाइ छ ।
