समाज

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

काठमाडौं । भोजपुरमा अकबरे खुर्सानी किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो ।

स्थानीय बजारमा प्रतिकेजी दुईदेखि चार सय रुपैयाँसम्म खुर्सानी बिक्री हुने गरेको छ । खुर्सानी बिक्रीबाट घर परिवारका लागि खर्च जोह गर्न सहज भएको स्थानिय बताउँछन् । उत्पादन भएको खुर्सानीको बजारमा राम्रो माग रहेको छ । 

भोजपुरको पौवादुङमा गाउँपालिकाको अधिकांश भूगोलमा खुर्सानीको व्यावसायिक खेती भइरहेको छ । गाउँपालिकाले व्यावसायिक खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमले खेती विस्तारमा सहयोग गरेका कारण यहाँको करिब पाँच सय हेक्टर क्षेत्रमा किसानले खुर्सानी खेती गरिरहेका छन् । 

समग्रमा पालिका क्षेत्रमा करिब नौ सय कृषकले व्यावसायिक अकबरे खुर्सानी खेती गरिरहेका छन् । खुर्सानी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । 

पौवादुङमाका एक किसानले न्यूनतम एक लाख ५० हजारदेखि सात लाख रुपैयाँसम्म खुर्सानी खेतीबाट भित्र्याउने गरेका छन् । गत आर्थिक वर्षमा ६ सय हेक्टर क्षेत्रमा लगाइएको करिब २५ करोड बराबरको खुर्सानी बिक्री भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । यस वर्ष जिल्लाभर छ सय नौ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती गरिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *