काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको लिग चरणअन्तर्गत मंगलबार राति भएका खेलमा बार्सिलोना र बायर्न म्युनिखले प्रभावशाली जित निकालेका छन्। म्यानचेस्टर युनाइटेडले भने दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इटालियन क्लब रोमामाथि रोमाञ्चक जित दर्ता गरेको छ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले इटालियन क्लब रोमालाई ३-२ गोलले पराजित गर्यो। पहिलो हाफमै दुई गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो। रोमाले ११औँ मिनेटमा रोड्रिगो मोराको पासमा माटियास सौलेको गोलबाट अग्रता लिएको थियो। त्यसको ६ मिनेटपछि डोनियल मालेनले पेनाल्टीमार्फत गोल थपेपछि पाहुना टोली पहिलो हाफमा २-० ले अगाडि रह्यो।
तर दोस्रो हाफमा युनाइटेडले खेलमा फर्कने प्रयास गर्यो। ५८औँ मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै अन्तर घटाए। त्यसपछि म्याथियस कुन्हा नायक बने। उनले ८३औँ मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। त्यसको तीन मिनेटपछि स्यामुअल लेसीको पासमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले ३-२ को अग्रता बनायो।
तर ९०औँ मिनेटपछि दोस्रो पहेँलो कार्ड पाएपछि कुन्हा मैदानबाट बाहिरिए। १० खेलाडीमा सीमित भए पनि युनाइटेडले अग्रता जोगाउँदै महत्वपूर्ण जित निकाल्यो। यस जितसँगै युनाइटेडले लगातार नौ खेलदेखि जित निकाल्न नसकेको अवस्थाको अन्त्य गरेको छ।
स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब एस्टन भिल्लालाई ३-० गोलले पराजित गरेको छ। बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा लामिन यमलले सातौँ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाका लागि राफिन्हाले दोस्रो हाफमा दुई गोल थपे। उनले ५२औँ मिनेटमा फर्मिन लोपेजको पासमा गोल गरे।
त्यसपछि ६४औँ मिनेटमा जोआओ क्यान्सेलोको पासलाई सदुपयोग गर्दै राफिन्हाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। बार्सिलोनाले बलियो प्रदर्शन गर्दै जित निकालेको खेलमा एस्टन भिल्लाले गोल फर्काउन सकेन। यससँगै बार्सिलोनाले लिग चरणको तालिकामा एस्टन भिल्लालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ।
जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा बायर्नले दुई गोल गर्यो। ५४औँ मिनेटमा १८ वर्षीय लेनार्ट कार्लले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
त्यसपछि ७४औँ मिनेटमा ह्यारी केनको पासमा कोनराड लाइमरले गोल थपेपछि बायर्नले २-० को जित सुनिश्चित गर्यो। यस जितसँगै बायर्नले च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।
च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएका अन्य खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भिल्लारियललाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्यो। इन्टर मिलानले फेयेनुर्डलाई ३-० ले हराउँदा गालातासारेले स्टुटगार्टमाथि २-० को जित निकाल्यो। स्पोर्टिङ सीपीले शाख्तर डोनेस्कलाई १-० गोलले पराजित गर्यो।
यस्तै, एलएएसकेले स्लोभान ब्राटिस्लाभालाई ४-० गोलले हराउँदा बोडोरग्लिम्ट र लिलबीचको खेल गोलरहित बराबरीमा सकियो।

