बागलुङ । चार वर्षअघि कालोपत्रे र रंगरोगन गरेर चिटिक्क पारिएको बागलुङको बलेवा विमानस्थल हाल जीर्ण अवस्थामा पुगेको छ ।
धावनमार्गमा फैलिएको काँस र विमानस्थल वरिपरिको तारबारमा लागेको खियाले विमानस्थल कुरुप बनेको हो । विमानस्थल सुधारका नाममा करिब ९ करोड रुपैयाँ खर्च भैसकदा समेत नियमित उडान शुुरु हुन नसकेकोमा स्थानीय चिन्तित रहेका छन ।
विमानस्थल सञ्चालनका लागि मन्त्रीदेखि सांसदसम्मलाई जानकारी दिइसकेको भएपनि चल्ने छाँटकाट देखिएको छैन । यातायातको सहजताका लागि सदरमुकामदेखि बलेवा तर्फको आठ किलोमिटर सडक कालोपत्रे गर्ने गर्ने तयारी स्थानीय तहले गरेको छ ।
२०२२ सालमा स्थापना गरिएको बलेवा विमानस्थलबाट एक समय पोखरा, भैरहवा र काठमाडौंका लागि उडान हुँदै आएको थियो । तर, २०४८ सालमा पोखरा–बागलुङ राजमार्ग निर्माण भएपछि हवाई उडान ठप्प जस्तै रहेको छ ।
पछिल्लो पटक २०७४ चैत ५ गते तारा एयरको जहाजले परीक्षण उडान गरेपनि नियमित उडान हुन सकेको छैन ।