काठमाडौं । आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आएको छ ।
बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगको उद्घाटन गर्दै सो उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरु सार्वजनिक गरेका हुन् ।
मन्त्री भण्डारीले यो उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले उद्योगले देशभित्र रोजगारी सिर्जना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिँदा आत्मनिर्भर अर्थतन्त्र बनाउन सघाउने बताए ।
अध्यक्ष ढकालले स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावना मार्फत नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश यस उद्योगले दिएको पनि बताए ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित रहेको आइएमई ग्रुपले जनाएको छ ।