मुख्य समाचार

विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की

विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की

विराटनग । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्यसंयन्त्र अन्तर्गतका सरोकार भएका पक्षसँगको सहयोग र सहकार्य गरी विपद् न्यूनीकरण तथा व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

‘कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले विपद्जन्य घटना र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि सहयोग र सहकार्यसहित एकीकृत प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे । 

मुख्यमन्त्री कार्कीले विपद् न्यूनीकरण, उद्धार, राहत वितरणका क्षेत्रमा नेपाली सेनासहित सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउटको भूमिका महत्वपूर्ण रहेकाले सहयोग र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । उनले यस वर्ष औषत वर्षा बढी हुने मौसम विज्ञहरुको भनाइ उद्धृत गर्दै मनसुसन शुरु हुनुअघि नै कोशी प्रदेशका केही ठाउँमा विपद्का घटनाहरु देखिएकाले त्यसतर्फ स्थानीय निकाय, प्रमुख जिल्ला अधिकारीसहित जिम्मेवार निकायका बीच समन्वय हुुनपर्नेमा जोड दिए । 

विराटनगर विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर राख्ने व्यवस्थाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एक वर्षअघि पत्राचार गरे पनि अझैसम्म अनुमति प्राप्त नभएकामा दुःख व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयमा ढिलासुस्ती हुँदा अपूरणीय क्षति व्यहोर्नु परेकोतर्फ सम्बद्ध निकायको ध्यान जाओस् भने । 

आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार विपद्जन्य घटनाबाट हुने जोखिमलाई न्यूनीकरण गर्न गम्भीर रहेको बताउँदै उनले चालु आर्थिक वर्षमा विपद् जोखिम न्यूनीकरण गर्न एक करोड ५० लाख बजेट विनियोजन गरेको र आगामी वर्ष बजेट थप गरिने प्रतिबद्धता व्यक्त गरे । 

प्रदेशमा विपद्का दृष्टिले जोखिम क्षेत्रहरूको नाप–नक्सासहित पहिचान भइसकेका जानकारी दिँदै जोखिम हुने त्यस्ता ठाउँमा कार्यगत योजना बनाई क्षति न्यूनीकरणका पक्षमा सरकार जुटेको बताए । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र पूर्वी पृतना हेडक्वाटर इटहरी सुनसरीको व्यवस्थापनमा सञ्चालित विपद् व्यवस्थापन सम्बन्धी दुईदिने सो अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र राष्ट्रसेवक कर्मचारीसमेत गरी ९० जनाको सहभागिता रहेको छ ।
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *