मुख्य समाचार

महोत्तरीमा डढेलो नियन्त्रणका लागि छुट्टयाएको बजेट हिनामिना गरेको आरोप

महोत्तरीमा डढेलो नियन्त्रणका लागि छुट्टयाएको बजेट हिनामिना गरेको आरोप

महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले राष्ट्रिय वनमा लाग्ने डढेलो नियन्त्रणका लागि छुट्टयाएको बजेट हिनामिना हुने गरेको आरोप स्थानीयले लगाएका छन् ।

डढेलोले वर्षेनी करोडौंका काठ–दाउरामा क्षति पुग्ने गरेको भएपछि डढेलो नियन्त्रणका लागि छुुट्याइएको बजेट भने अन्यत्रै खर्च हुने गरेको आरोप स्थानीयले लगाएका हुन् । 

डढेलो नियन्त्रणका लागि सरोकारवालासित अन्तरक्रिया गर्न, कर्मचारीको गोष्ठी समूह स्तरको सचेतना गोष्ठी प्रचारप्रसार, स्कुल शिक्षा नागरिक समाजसितको कार्यक्रम, गाउँ–बस्ती नजिक जोखिममुक्त क्षेत्र कार्यक्रम, अग्नि नियन्त्रक पुरस्कार र सुराकी स्वयंसेवकका लागि गरी गत आर्थिक वर्षमा १२ लाख ७० हजार बजेट बजेट छुट्याइएको थियो । 

वन डढेलो नियन्त्रण योजना कार्यान्वयनका लागि १ लाख, अग्नि रेखा मर्मत र सरसफाइमा १ लाख बजेट विनियोजन गरिएको थियो । तर, डढेलो नियन्त्रणका लागि विनियोजन गरिएको बजेट डिभिजन बन कार्यालयले विभिन्न सरोकारवालाहरूसँग गोष्ठी गरेको कागजमै सम्पन देखाएर अनियमितता गर्ने गरेका छन । 

वन डढेलो नियन्त्रणमा गोष्ठीले कुनै अर्थ नराख्ने गरेको पाईएको छ । डिभिजन वन कार्यालयले अग्नि नियन्त्रण लगायत शीर्षकको नाममा खर्च गरिएको बजेटले प्रभावकारी काम नभएपछि स्थानीयले छानविनका लागि अख्तियारमा उजुरी दिएका छन् । 

डढेलो नियन्त्रणका लागि प्रभावकारी काम नहुँदा बर्दिवास र गौशाला नगरपालिकामा पर्ने सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लट र राजमार्गको दायाँबायाँ दुवैतिरका जंगल डढेलोले खरानीमा परिणत भएका छन् ।

डढेलो वन्यजन्तुमा समेत असर परेको छ । तर, डिभिजन वन कार्यालयले भने वनमा आगो लगाउनेलाई पत्ता लगाएर कारबाही समेत गर्न सकेको छैन ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *