एजेन्सी । युक्रेन र रुसबीच युद्धबन्दी आदानप्रदान गर्ने सहमति भएको छ ।
टर्कीमा सोमबार भएको वार्तामा सबै गम्भीर घाइते वा बिरामी सैनिक र १८ देखि २५ वर्ष उमेरका सबै लडाकु आदानप्रदान गर्न तथा मारिएका सैनिकहरूको शव फिर्ता गर्न दुवै देश सहमत भएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसको प्रतिनिधिमण्डलका नेता भ्लादिमिर मेडिन्स्कीले आफ्नो देश ६ हजार युद्धबन्दी युक्रेनलाई हस्तान्तरण गर्न तयार रहेको बताएका हुन् । मारिएका युक्रेनी सैनिकहरूको शव अर्को हप्ता फिर्ता गरिने उनको भनाइ छ ।
युक्रेनले पनि त्यसका लागि एक साता लाग्ने जनाएको छ । शव आदानप्रदान गर्न सकियोस् भनेर रुसले युक्रेनलाई सीमा क्षेत्रका केही भागमा दुईदेखि तीन दिनको युद्धविराम प्रस्ताव समेत गरेको छ ।
वार्तापछि युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले यही महिनाको अन्त्यमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुन सक्ने बताएका छन् । त्यसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने सम्भावना रहेको उनको भनाइ छ ।