काठमाडौं । अकासे पानी नपरेपछि पर्साका दक्षिणी भेगका किसानलाई भर्खरै रोपेको धानबाली जोगाउने चिन्ताले सताएको छ ।
पर्सासहित मधेस प्रदेशका अधिकाशं जिल्लामा पर्याप्त मात्रामा पानी नपरेपछि भर्खरै रोपेको धानखेतमा अहिले धाँजा फाट्न थालेको छ । पर्साका किसानले गण्डक नहर, स्यालो ट्युबवेल, पप्पसेट, डिपबोरिङलगायतका सहायताले जेनतेन धान रोपाइँ गरे पनि अहिले रोपिएका धानलाई जोगाउन निकै सकस परिरहेको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार पर्सामा ८० प्रतिशत धान रोपाइँ भए पनि पानी अभावका कारण खेतमा धाँजा फाट्न थालेको हो । कृषि ज्ञान केन्द्रले मात्र गत आर्थिक वर्षमा सिँचाइका लागि साना–ठूला गरेर पाँच सय ५० वटा स्यालो ट्युबवेल सञ्चालनमा ल्याएको थियो ।
छिमेकी मुलुक भारतले गण्डक सिँचाइ तथा जलविद्युत् योजनाको सम्झौता अनुसारको आठ सय ५० क्युसेक क्षमताको पानी उपलब्ध नगराउँदा पनि पर्सा, बारा र रौतहटमा धान रोपाइँ प्रभावित भएको छ ।
नारायणी सिँचाइ व्यस्थापन कार्यालय मातहत २९ वटा ट्युबवेलमध्ये दुईवटा मात्र सञ्चालनमा छन् । सो मातहत रहेका चारवटा ट्युबवेल पूर्ण रूपमा निष्क्रिय छन्भने २३ वटा ट्युबवेल आवश्यक मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन सकिने भएकाले बजेटको आवश्यकता रहेको बताइएको छ ।
नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ तारिखमा गण्डक सिँचाइ तथा जलविद्युत् योजना सम्झौता भएको थियो । सो सम्झौता अनुसार दुवै मुलुकमा सिँचाइ गर्र्ने उद्देश्यसहित भारत सरकारद्वारा नारायणी नदीमा ब्यारेज निर्माण गरी नारायणी सिँचाइ प्रणालीको विकास गरिएको थियो ।
सो सिँचाइ योजना अन्तर्गत पर्सा, बारा र रौतहटको दक्षिणी भेगको ३७ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइका लागि भारतीय पक्षले नेपालका लागि आठ सय ५० क्युसेक क्षमताको पानी आउने गण्डक नहर निर्माण गरेर सन् १९७५ र १९७६ मा नेपाललाई हस्तान्तरण गरेको थियो ।
गण्डक नहर भारतीय भूमि हुँदै नेपाल–भारतको सीमाक्षेत्र जानकीटोला हुँदै पर्सामा पानी भित्रिने गर्छ । यो नहर नेपालतर्फ ८१ किलोमिटर लम्बाइ रहेको छ । यो नहरको नौवटा डिष्ट्रिव्युटरी र ८७ वटा संरचना अन्तर्गत पर्सा, बारा र रौतहतमा सिँचाइ गर्ने गरिन्छ । तीन जिल्लाको ३७ हजार ४०० हेक्टर क्षेत्रमा सिँचाइ हुनुपर्ने भएता पनि अहिलेसम्म भने २८ हजार हेक्टर क्षेत्रफलमा मात्र सिञ्चित हुँदै आएको छ ।