समाज

फक्ताङलुङ गाउँपालिकाद्वारा इच्छुक विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान

फक्ताङलुङ गाउँपालिकाद्वारा इच्छुक विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका सबै इच्छुक विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्ने नीति अन्तर्गत यस वर्ष पनि विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । 

शिक्षाको विकास विना समाजको समृद्धि सम्भव छैन भन्ने मान्यता अनुरूप गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका घरपरिवारका छोराछोरीलाई उच्च शिक्षामा निरन्तरता दिन सहयोग गर्दै आएको हो ।

गाउँपालिका भित्रका १ सय १३ जना विद्यार्थीहरू फुङ्लिङअवस्थित पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत छन् । ती सबै विद्यार्थीको शुल्क गाउँपालिकाले व्यहोरेको छ । गाउँपालिकाले अध्ययन शुल्क वापतको  १४ लाख ७७ हजार १ सय ६० रुपैयाँ गत साताा पठाइसकेको अध्यक्ष राजन लिम्बूले जानकारी दिए ।

गाउँपालिकाको यो पहलले दूरदराज र पिछडिएको क्षेत्रमा रहेका परिवारका छोराछोरीलाई पनि कक्षा १२ पछिको उच्च शिक्षामा आकर्षण बढाएको छ । यसले विद्यार्थीको मनोबल उच्च बनाउनुका साथै, अभिभावकहरूको पनि आर्थिक बोझ कम गरिदिएको विद्यार्थी र अभिभावक दुवैले बताएका छन् ।

गाउँपालिकाले प्राविधिक शिक्षामा पनि छात्रवृत्तिको व्यवस्था गरेको छ । यस आर्थिक वर्षमा ८ जना प्राविधिक विद्यार्थीहरूलाई ५० प्रतिशत छात्रवृत्ति वापत एक लाख ५९ हजार ७५० रुपैयाँ उपलब्ध गराएको हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *