समाज

भारतबाट लागूऔषध लिएर नेपाल प्रवेश गर्ने क्रममा ३ जना भारतीय नागरिक पक्राउ

भारतबाट लागूऔषध लिएर नेपाल प्रवेश गर्ने क्रममा ३ जना भारतीय नागरिक पक्राउ

मकवानपुर । भारतबाट लागूऔषध लिएर नेपाल प्रवेश गर्ने क्रममा मकवानपुरबाट ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । 

उनीहरूलाई प्रहरीले हेटौंडाको रातोमाटे चेकप्वाइन्टमा पक्राउ गरेको हो । बुधबार बिहान करिब ६ बजे, प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१५ स्थित चेकप्वाइन्टमा सवारी साधन जाँच गर्ने क्रममा भारतको मोतीहारीबाट काठमाडौंतर्फ आइरहेको बीआर शुन्य एक ए डब्लू एक चार शुन्य चार नम्बरको भारतीय कारलाई शंका लागि चेकजाँच गर्दा ट्रामाडोल र ओनेरेक्ससहितका लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कार चालक भारत मोतीहारीका २६ वर्षीय उपेन्द्र यादवसहित कारमा सवार सोही जिल्लाका २२ वर्षीय संजित कुमार यादव र ३५ वर्षीय सिकिन्दर महतो रहेका छन् । उनीहरुको साथबाट ट्रामाडोल २५ हजार ४ सय ५५ क्याप्सुल र ओनेरेक्स १२० बोतल बरामद भएको छ ।

कारको सिटमुनि र पछाडिको डिक्की भित्र फल्स बटम बनाई लुकाइछिपाई राखिएको अवस्थामा लागूऔषध फेला परेको थियो । बरामद लागूऔषधसहित कारलाई समेत नियन्त्रणमा लिएर तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्र हुँदै भइरहेको लागूऔषध ओसारपसारलाई रोक्न चेकजाँच थप कडा बनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *