एजेन्सी । अर्बपति व्यापारी एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्च विधेयकको कडा आलोचना गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मस्कले यसलाई ‘घृणित’ भनेर टिप्पणी गरेका हुन् । यो कानून मे महिनामा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट पारित भएको थियो । यो कानूनमा धेरै ट्रिलियन डलर बराबरको कर छुट, रक्षा खर्चमा वृद्धि र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति दिने बुँदा समावेश छन् ।
यसका पक्षमा मतदान गर्नेहरूलाई लाज लाग्नु पर्ने मस्कले मंगलबार सामाजिक सञ्जाल एक्समा लेखेका हुन् । सरकारी दक्षता विभाग १ सय २९ दिन काम गरेपछि अर्बपति मस्कले गत हप्ता प्रशासन छोडेका थिए ।
सरकार छोडेपछि मस्कले ट्रम्पप्रति गरेको यो पहिलो टिप्पणी हो । यो विधेयकलाई यसअघि मस्कले ‘निराशाजनक’ भनेका थिए ।