ADVERTISING

Breaking News

आइसोलेसनमा राजु सदाको मृत्यु भएको विषयमा छानविन गर्न समिति गठन

काठमाडौं : प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा विरामीको मृत्यु भएको विषयमा प्रदेश नम्बर दुईले छानविन अघि बढाएको छ । आइसोलेसनमा रहेका १६ वर्षीय किशोर राजु सदाको मृत्युको विषयमा छानविन गर्न प्रदेश सरकारले तीन सदस्सीय छानविन समिति गठन गरेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साहको संयोजकत्वमा गठित समितिलाई सात दिनभित्र अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन बुझाउने जिम्मेबारी दिइएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

छानविन समितिमा अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानुन उपसचिव दिलीपकुमार प्रधान सदस्य रहेका छन् । उपचारमा संलग्न चिकित्सकले भने उनको मृत्यु इन्सेफ्लाइटिसवाट भएको प्रतिवेदन प्रादेशिक अस्पताललाई बुझाएका छन् ।

धनुषको हंशपुर नगरपालिका ७ प्रसाहीका राजु सदाको क्वारेन्टिनमा आरडीटीमा पोजेटिभ रिपोर्ट आएपछि उनलाई जेठ २९ गते प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो ।

समयमै उपचार नपाउदा उनको मंगलबार प्रादेशिक अस्पतालको आकस्मिक कक्षमै मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीले सदाको मृत्यु भएको भन्दै आलोचना हुँदै आएको छ ।

leave a reply