कोशीमा नयाँ सरकार गठन आह्वान गर्न एमाले र माओवादीको दबाब

प्रदेश प्रमुखलाई भेटेर गराए ध्यानाकर्षण

नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले आज कोशीका प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समय गुजारेको भन्दै एमाले र माओवादी नेताहरुले अर्को सरकार गठनका लागि आग्रह गरेका हुन् । प्रदेश प्रमुखलाई भेट्न एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो लगायत नेताहरु पुगेका थिए । प्रदेश प्रमुखले कानुनी परामर्श लिएर प्रक्रिया सुरु गर्ने आश्वासन दिएका छन । संविधानको धारा १ सय ६८ को उपधारा पाँच अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन एमाले र माओवादी केन्द्रले गत २६ चैतमा फिर्ता लिएका थिए । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको भन्दै एमाले र माओवादी नेताहरुले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । उनले विश्वासको मत लिने समय हिजो सकिएपछि गठबन्धन नयाँ सरकार गठन प्रक्रियाका लागि दवाव दिन पुगेका हुन । उता कोशी प्रदेश सरकारले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरिसकेको विषयबारे प्रदेश प्रमुखलाई फेरि सम्झाउने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले जेठ ११ गतेलाई बजेट अधिवेशन आह्वान गरेको विषय प्रदेश प्रमुखलाई पुनः स्मरण गराउने निर्णय गरेको हो । 

प्रतिक्रिया