सुनकोशी– मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’, बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

सुनकोशी–मरिण डाइभर्सन अन्तर्गतको सुरुङ आज ब्रेक थ्रु ‘छिचोलिएको’ छ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आज सिन्धुलीको सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा एक कार्यक्रमबीच ब्रेक थ्रु गरेका हुन । १३ दशमलव तीन किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएको हो । आयोजनाको प्रवेशद्धार कमलामाई नगरपालिका–२ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएको छ । सो क्रममा प्रधानमन्त्री दाहालले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताए । आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास उनको छ । कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिवी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको उल्लेख गरे । नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको  स्पष्ट पारे । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिण नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पु¥याउनेछ । हाल सिँचाइ भइरहेको ४५ हजार ६ सय हेक्टर जमीनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ । 

यसैविच प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री दाहालले आयोजनामा आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै समाधान गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्ने भन्दै प्रधानमन्त्री दाहालले समयमै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्न भनेका हुन । उनले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न निर्देशन दिए ।प्रधानमन्त्री दाहालले आयोजनामा राम्रो काम गर्ने कर्मचारीको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिए ।  

प्रतिक्रिया