काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको आरोप लगाएका छन । लामिछानेको नागरिकता प्रकरणले सत्ता समिकरणमा फेरबदल नहुने उनको दाबी छ । महासचिव पोखरेलले राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरुका कारण नबिथोलिने भन्दै सत्ता गठनबन्धनले समस्याको समाधान खोज्ने बताए ।
महासचिव पोखरेलले विगतमा पीआर लिएर विदेशमा बसेका थुप्रै व्यक्तिहरु नेपाल फर्किंदा स्वतः नेपाली नागरिक भएको अभ्यास रहेपनि कसैले प्रश्न नउठाएको गुनासो समेत गरे । रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चमत्कारिक रहेको उनको टिप्पणी छ ।
महासचिव पोखरेलेले अदालतमा त्यस्तै प्रकृतिका मुद्दाहरुको निरुपण गर्न उदासिन हुने र प्रक्रिया नै अगाडी नबढ्ने स्थिति हुने तर कतिपय मुद्दाहरुको फटाफट निर्णय हुने गरेको भन्दै यसको यथोचित जवाफ अदालतले दिनुपर्ने समेत बताए । प्रधानन्यायाधीशको महाअभियोग प्रकरणका सन्दर्भमा संसदले लेखेको पत्रका बारेमा सर्वोच्चले देखाएको सक्रियता भने अस्वभाविक रहेको उनको आरोप छ । तर एमालेले अदालतको फैसलालाई सम्मान गर्ने उनले उल्लेख गरे ।
सत्ता समिकरणमा फेरबदल ल्याउन लामिछानेलाई मुद्दा हालियो: शंकर पोखरेल
