ADVERTISING

Breaking News

बाढी र पहिरोमा परी दार्चुलामा पाँच जनाको मृत्यु, ११ जना बेपत्ता 

बाढी र पहिरोमा परी दार्चुलामा ५ जनाको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी ३५ वर्षीय जानकी ठगुन्ना, १४ वर्षिय धनमती ठगुन्ना र महाकाली नगपालिका–२ मैखोलीका ७७ वर्षिय नन्दराम बोहरा रहेका छन् । अन्य दुइ जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गएराती लास्कु खोलामा आएको बाढी र पहिरोमा परी महाकाली नगरपालिका–३ डुङरीमा होटेल व्यवसाय गर्दैै आइरहेका एकै परिवारका चार जना वेपत्ता भएका हुन् । बेपत्ता हुनेमा महाकाली नगरपालिका–१ घर भई डुङर होटल व्यवसाय गर्दै आएका ५२ वर्षीय धन सिंह कार्की, उनकी ४५ वर्षीय श्रीमती मानमती कार्की, छोराहरु १८ वर्षीय दिपक कार्की र १० वर्षीय दिनेश कार्की रहेका छन् । यसैगरी महाकाली–४ लास्कुका ४५ वर्षीय मोहन लुहार र ४० वर्षीया सरस्वती देवी लुहार बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीका कारण लास्कु क्षेत्रका ४ र बांगाबगर क्षेत्रका ११ घरमा क्षति पुगेको छ । यस्तै दुहुँ र महाकाली जोड्ने लास्कु खोला झोलुंगे पुल र मोटरपुल बगाएको छ भने लास्कु खोलामा आएको बाढी र पहिरोले महाकाली नदी थुनिएर ताल बनेको छ । महाकाली नदी थुनिदा दुहुँ र ब्याँस जोड्ने सडक डुवानमा परेको छ । बाढीले पार्किङमा राखेका ५ वटा बोलेरो जीप, एउटा ट्याक्टर र एउटा अल्टो कार बगाएको प्रहरीले जनाएको छ । अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायतले खोज तथा उद्दार जारी राखेका छन् । यसैबीच, बाढी र पहिरोमा परी गम्भिर घाइते भएकाहरुलाई उद्दार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर पुगेको छ । सोही हेलिकप्टरले बाढी र पहिरो प्रभावित क्षेत्रका नागरिकको लागि अवश्यक राहत सामाग्री समेत ल्याउने जनाइएको छ ।

leave a reply