ADVERTISING

Breaking News

समयमा उद्धार नहुँदा यी युवतीले गुमाइन् ज्यान, उद्धारका लागि किन पठाइएन हेलिकप्टर ?

काठमाडौं : समयमा उद्धार नहुँदा एक युवतीले ज्यान गुमाउनु परेको छ । सल्यानको शारदा नगरपालिका वडा नं ८ की २१ वर्षीया कल्पना आचार्यको समयमा उद्धार नहुँदा मृत्यु भएको हो । उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर नपठाइएपछि उपचार नपाएर उनले ज्यान गुमाउनु परेको हो ।

गत फागुन ४ गते घर नजिकै घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी उनलाई उपचारका लागि सल्यान अस्पताल लगिएको थियो । तर, सल्यान अस्पतालमा उपचार सम्भब नभएकाले उपचारका लागि काठमाडौं ल्याउनुपर्ने भयो । एम्बुलेन्सबाट उद्धार गर्दा बाटोमै मृत्यु हुन सक्ने भन्दै सल्यान अस्पतालका डाक्टरहरुले उनलाई हेलिकप्टरबाट उद्धार गर्न सिफारीस गरे ।

सोही अनुरुप जिल्ला प्रशासन कार्यालय सल्यानले गृह मन्त्रालयलाई हेलिकप्टरबाट उद्धार गरिदिन भन्दै पत्र समेत पठायो । काठमाडौंबाट शुरुमा हेलिकप्टर पठाउने बताइएपनि अन्तिम समयमा पठाउन नसकिने भन्दै हेलिकप्टर उद्धारका लागि नपठाइएको कल्पनाका आफन्त बताउँछन् । जसको परिणाम कल्पनाले भोग्नु पर्‍यो । सरकारको लापरबाहीले कल्पनाले ज्यान गुमाउनु परेको उनका आफन्तहरुको गुनासो छ । सबै कागजी प्रक्रिया पूरा गरेर जिल्ला प्रशासन कार्यालयबाट नै पहल गर्दा पनि सरकारले हेलिकप्टर पठाउन नसक्नु सरकारको लापरबाही नै भएको उनीहरु बताउँछन् ।

कल्पनाका एक आफन्तले सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् । उनले लेखेका छन्, “सवैले चाहदा चाहदै,बच्ने सम्भावना रहदा रहदै पनि राज्यले एउटा नागरिक बचाउनसकेन । राज्यका अङ्गहरु परिचालित हुँदा हुँदै पनि एउटा मिसन पुरा हुन सकेन । तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य सम्यन्त्र किन प्यारालाइज्ड देखिन्छ ? यी कागजी प्रकृया र भनसुन बाहेक नागरिकले तत्काल सेवा पाउने अर्को संयन्त्र तयार गर्नुपर्ने हो कि ? राज्य संयन्त्र निर्देसित मात्र देखियो,यस्लाइ उत्तरदायी र मानबिय बनाउन ढिलो हुँदै छ कि ? तिमि यस्तो देश मा जन्म लिएकी थियौ जहाँ केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामि बोक्न सम्पुर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।”

leave a reply