काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट भई योगदान गर्न देशवासीमा आग्रह गरे ।
वर्तमान सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा अग्रसर रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा रहेको बताए । ‘यस लक्ष्य प्राप्तिका लागि हामी हाम्रा हरेक क्षण, सम्भावना र सामाथ्र्यको सदुपयोग गरिरहेका छौँ,’ उनले सन्देशमा भने, ‘यस यात्राबाटै हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गर्दैछौँ ।’
लामो समयदेखिको सङ्क्रमणकालबाट मुलुक सुशासन र विकासको दिशामा अग्रसर रहेको उल्लेख गर्दै उनले प्रजातन्त्रिक आन्दोलनमार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहना सफलताको दिशामा अभिमुख रहेको प्रष्ट पारे । ‘आज हामी मुलुकलाई गरिबीबाट सम्पन्नतिर, अविकसितबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेका छौँ’, प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, ‘जनताको त्यही सङ्घर्षबाट प्राप्त लोकतन्त्रको आधार भूमिमा टेकेर अहिले हामी मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढिरहेका छौँ ।’