ADVERTISING

Breaking News

भारतबाट घटेर आएपनि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएन

काठमाडौं : नेपाल आयल निगमले हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने जनाएको छ ।

निगमले आज एक विज्ञप्ति प्रकाशित गर्दै भारतीय आयल कर्पोरेसन आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि मूल्य समायोजन नहुने जनाएको हो ।

निगमले अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत राखिएको स्पष्ट पारेको छ ।

भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो ।

सो मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा तथा डिजलमा नौ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ९९ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।

निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको पनि उल्लेख गरेको छ ।

बक्यौता रकम भुक्तानी गर्दै क्रमशः पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्नुपर्ने दायित्व रहेको रहेको भन्दै निगमले यो पटक मूल्य नघटाउने निगमको भनाइ छ ।

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७२ रुपैयाँ छ ।

लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकको तीन अर्ब ऋण तिर्न बाँकी रहेको पनि निगमले जानकारी दिएको छ ।

leave a reply