ADVERTISING

Breaking News

पार्टी कब्जा गर्ने ढंगले आएको हो भने त्यो सम्भव छैन: ओली

काठमाडौं  । नेकपा एमालेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालको महत्वाकांक्षा र स्वार्थकै कारण पार्टी पुन: विभाजित भएको बताएका छन्।दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपाकालमा जस्तै पार्टी कब्जा गर्ने ढंगले माधव नेपालहरु आएको हो भने त्यो सम्भव नहुने प्रष्ट पारेका छन् ।

‘यत्रो दु:खबाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरुले आफ्नो महत्वाकांक्षा र स्वार्थको कारण हाम्रो पार्टी पुन: विभाजित भयो। विभाजित नभएको भए पनि उहाँहरूले शत्रुतापुर्ण सम्बन्ध बनाइसक्नुभएको थियो’ उनले थपे,  ‘मलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गर्ने। त्यस्ता ब्यक्तिहरु नेतृत्वमा हावी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन।’

सम्बोधनमा ओलीले अझै पनि पार्टीमा माधव पक्षलाई समेटेर लैजान आफू लचिलो बनेर प्रस्तुत भएको जानकारी बैठकलाई गराएका छन् ।
आफू पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन लागि रातदिन नभनी खटेको पनि उनले बताए।’कम्युनिष्ट पार्टी एकताबद्ध बनाउन म रातदिन अहोरात्र खटेको छु। हामी जिम्मेवार र अनुसाशित भएकोले हामीले नै अबको पार्टीलाई एकता कायम गर्न प्रयास गर्छौु उनले सम्बोधनका क्रममा भनेका छन्।’

ओलीले भने , ‘म अझै पनि लचिलो भएर आएको छु। मेरो माधव नेपाल योगेश भट्टराईलगायतका नेताहरूसँग भेटघाट भयो। दुई कदम पछाडि एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें। तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल महसुस र अनुभूति देखिँदैन।’ उनले यदि एमाले पार्टी खोस्ने ढंगले कोही आएको भए त्यो सम्भव नहुने पनि प्रस्ट पारे।

leave a reply