काठमाडौं: प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार पनि नागरिक समाजले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघरमा बिभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागितामा संसद बिघटनको विरोधमा विरोध प्रदर्शन गरिएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन भन्दै गरिएको विरोधमा डाक्टर गोविन्द केसी, चर्चित पूर्वप्रहरी डीआईजी रमेश खरेललगायतका व्यक्तिहरु सहभागी भएका थिए ।
माइतिघरबाट सुरु विरोध प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै डाक्टर केसीले प्रधानमन्त्री ओली तानाशाहको बाटोमा अघि बढेको आरोप लगाए । मुलुकमा हत्या हिंसा, भ्रष्टचार, अनियमितता बढ्दै गएपनि सरकार भने मौन रहेको उनको आरोप थियो ।
प्रदर्शनमा सहभागीहरुले ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, संवैधानिक सर्वोच्चता कायम गर, कानुनविरुद्धको षड्यन्त्र बन्द गर’ लगायत नाराअंकित प्लेकार्ड बोकेर सरकारको विरोध गरेका थिए । प्रधानमन्त्री ओलीले पुस पाँच गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि नागरिक स्तरमा लगातार प्रदर्शनका कार्यक्रमहरु भइरहेका छन् ।