काठमाडौं: महानगपालिकाले दरवार हाईस्कुलभित्र पुस्तकालय बनाउने भएको छ । उपत्यकामा सञ्चालित पुस्तकालयहरु जीर्ण अवस्थामा रहेकाले महानगरले काठमाडौँको मौलिकता झल्कने डिजिटल माध्यमको सिटी पुस्तकालय निर्माण गर्न लागेको हो ।
हालसालै निर्माण भएको दरवार हाईस्कुलमा सिटी पुस्तकालय बन्ने भएको छ । बढ्दो शहरीकरण र प्रविधिको बिकासले मानिसहरुमा अध्ययनशिलता हराउन थालेको र प्रविधिको विकाससंगै डिजीटल माध्यमबाट अध्ययन गर्न चाहनेहरुलाई लक्षित गरि महानगरले पुस्तकालय बनाउन लागेको हो । पुस्तकालयका लागि महानगरले ५० लाख बजेट समेत विनियजन समेत गरेको छ । काठमाडौँको आफ्नै मौलिकता झल्काउने सम्पदालाई प्रयोग गरी दुई महिनाभित्र पुस्तकालय बनाउने तयारी छ ।
कामपा क्षेत्रमा रहेका ९१ सामुदायिक र ५ सय ४१ संस्थागत विद्यालयमा अध्ययन अध्यापन गर्ने सबै शिक्षक र विद्यार्थीका लागि पुस्तकालय बढी उपयोगी हुने विश्वास लिइएको छ । पुस्तकालयवाट सबैभन्दा बढी भानु माध्यामिक र संस्कृत विद्यालयका विद्यार्थी लाभान्वित हुनेछन ।
पुस्तकालय निर्माणमा ऐतिहासिक मौलिकता झल्कने सामाग्री प्रयोग गरिने महानगरले जनाएको छ । सदस्यता लिएको व्यक्तिलाई पुस्तकालय व्यवस्थापनले पासवर्ड दिने र इन्टरनेटमार्फत जहाँसुकैबाट सुविधा लिन सकिनेछ । कफी सप सहितको पुस्तकालयवाट स्वदेशी र विदेशी दुबै पाठकले लाभ उठाउनसक्ने जनप्रतिनिधिको विश्वास छ ।
२०७२ सालको भुकम्पबाट उपत्यकाका प्राय सबै पुस्तकालय अहिले अंशिक रुपमा बन्द जस्तै छन् । अहिले चिनीयाँ सरकारको सहयोगमा बनेको दरबार हाइस्कुलभित्र भानु र संस्कृत मावि विद्यालय संञ्चालित छन् । सोही स्थानमा पुस्तकालय सञ्चालनमा आएपछि नेपालकै पुरानो विद्यालयको महत्व झनै बढने विश्वास गरिएको छ । भुकम्पपछि पुर्ननिर्माण भएको विद्यालय कात्तिक ५ गते उदघाटन भएपनि कोरोना महामारीका कारण कक्षा भने सञ्चालन हुन सकेको छैन ।